वीरगञ्ज, २६ चैत। पर्सा र बाराका किसानका लागि जीवनरेखा मानिने गण्डक नहरमा लामो समयपछि व्यापक सफाई अभियान सुरु गरिएको छ । खडेरीका बेला नहरमा पानी भएर पनि पुछारसम्म नपुग्ने समस्यालाई समाधान गर्ने लक्ष्यसहित नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले मुख्य नहर सफा गर्ने काम अघि बढाएको हो ।

कार्यालयका अनुसार पर्सामा प्रसौनीको पुलदेखि पूर्वतर्फ पटनीसम्म करिब ६ किलोमिटर नहर सफा गरिएको छ भने बारामा थलही स्केपदेखि कञ्चनपुरसम्म र तिअर नदीदेखि जमुनीसम्म करिब ४ किलोमिटर नहर सफा गरिएको छ । यसरी दुवै जिल्लामा गरी करिब १० किलोमिटर मुख्य नहर ५० लाख रुपैयाँको बजेटमा कार्यालयकै मेशिन र जनशक्तिबाट सफा गरिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले जानकारी दिए ।

उनका अनुसार मुख्य नहरको जिम्मा कार्यालय आफैंले लिने गरेको छ भने सहायक नहरहरू ठेक्कामार्फत सफा गराउने व्यवस्था छ । “शाखा नहरहरूलाई ५ वटा प्याकेजमा विभाजन गरिएको छ, प्रत्येक प्याकेजमा करिब १५ किलोमिटरका दरले ७५ किलोमिटर क्षेत्र समेटिएको छ,” उनले भने, “करिब १ करोड २० लाखको लागत अनुमान भए पनि ठेकेदारहरूले ६५ प्रतिशतसम्म कम दरमा ठेक्का सकारेर सफा गर्ने काम गरिरहेका छन् ।”

गण्डक नहर भारतको पश्चिमी चम्पारणस्थित ईनर्वा सीमाबाट नेपाल प्रवेश गर्छ । पर्साको जगरनाथपुर हुँदै बारा र रौतहटसम्म फैलिएको यो नहरको कुल लम्बाइ ८१ किलोमिटर छ । पर्सामा ६, बारामा ६ र रौतहटमा ३ गरी १५ ब्लकमा विभाजन गरिएको नहरबाट हाल करिब २८ हजार ७ सय हेक्टर जमिनमा सिँचाइ भइरहेको छ ।

तर समस्या अझै गम्भीर छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर सुरेश प्रसाद साहका अनुसार नहर सफा गर्ने क्रममा अतिक्रमण ठूलो चुनौती बनेको छ । “२५ देखि ३० ठाउँमा नहरको डिलमै घर, गोठ र अन्य संरचना बनेका छन्, जसले गर्दा पूर्ण रूपमा सफा गर्न सकिएको छैन,” उनले थपे, “अहिलेसम्म मुख्य र सहायक गरी करिब ४० देखि ४५ किलोमिटर नहर सफा गरिएको छ, तर सबै क्षेत्र समेट्न अझै समय र समन्वय आवश्यक छ ।”

गण्डक नहर भारत सरकारको सहयोगमा करिब पाँच दशकअघि निर्माण गरिएको हो । सन् १९७५–७६ मा दुई चरणमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो नहर हालसम्म सामान्य मर्मतबाहेक ठूला सुधारबाट वञ्चित छ । नहरका अधिकांश कल्भर्ट जीर्ण भइसकेका छन् भने सहायक नहरहरू धेरै ठाउँमा पुरिएका छन् । सहायक नहरलाई नै पुरेर कतै बाटो बनाइएको छ भने कतै संरचना ठड्याइएको छ ।

कार्यालय प्रमुख पटेलका अनुसार नहर पुरानो भएकाले पानीको प्रवाह पनि कमजोर बन्दै गएको छ । “संरचना जीर्ण हुँदा खेतसम्म पानी पुर्‍याउन समस्या भइरहेको छ,” उनले भने ।

नेपाल र भारतबीच भएको सम्झौताअनुसार वाल्मीकि नगरस्थित ब्यारेजबाट नेपालले ८५० क्युसेक पानी पाउने व्यवस्था भए पनि त्यसको प्रभावकारी उपयोगमा संरचनागत कमजोरी बाधक बनेको छ ।

स्थानीय किसानहरूका लागि गण्डक नहर केवल सिँचाइको माध्यम मात्र होइन, कृषि उत्पादन र जीविकोपार्जनको आधार हो । त्यसैले नहरको दीर्घकालीन सुधार, अतिक्रमण हटाउने पहल र आधुनिक मर्मत आवश्यक भएको कृषकहरू बताउँछन् ।

यसपाली एक दशकपछि भारततर्फको नहर पूर्ण रुपमा सफा गरिएको छ, जसले गर्दा यसपटक नहरमा पानीको बहाब बढ्ने अनुमान छ, तर नेपालतर्फ भने बजेट अभाव र अतिक्रमणका कारण सबै नहरमा सफा गर्न सकिएको छैन, जसले गर्दा पानीको मात्रा बढ्यो भने नहरको बाँध फुट्ने वा अन्य जोखिम हुन सक्ने कार्यालय प्रमुख पटेलको भनाई छ ।

Author

सूर्य शुभचिन्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *