काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दललाई संसदीय दलका लागि कार्यालय उपलब्ध गराएको छ। बिहीबारदेखि कार्यालय हस्तान्तरण गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनका अनुसार सीमित स्रोतसाधनका बाबजुद उपलब्ध संरचनाभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको हो। दलका प्रतिनिधिलाई सम्बन्धित कार्यालयको स्थलगत अवलोकन समेत गराइएको उनले बताए।
सचिवालयका अनुसार सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसअघि नेकपाले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ। अन्य दललाई भने संसदमा रहेको प्रतिनिधित्वको आधारमा कार्यालय बाँडफाँट गरिएको छ।
यसैबीच, नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्ने तयारी गरिएको छ। शपथग्रहणअघि ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइनेछ। त्यसपछि सोही ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउनेछन्।
निर्वाचन आयोगबाट अन्तिम परिणाम प्राप्त भएपछि ज्येष्ठ सदस्यको पहिचान गरिने र शपथग्रहणका लागि तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पठाइने प्रक्रिया रहेको गिरीले जानकारी दिए। तीमध्ये सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ गराउनेछन्।
सचिवालयले सोही दिन प्रतिनिधि सभा प्रतिनिधित्व गर्ने दलहरूसँग शपथग्रहण, कार्यालय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमबारे छलफल गरेको थियो। दलहरूले सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा केन्द्रित अभिमुखीकरण आवश्यक रहेको सुझाव दिएका छन्। सचिवालयले सोही आधारमा कार्यक्रमको स्वरूप तय गर्ने जनाएको छ।




