२७ बैशाख, वीरगञ्ज। नेपालमा हरेक वर्ष हजारौँ मानिस आगो, तातो पानी, करेन्ट र रसायनको जलनले डढ्छन्। तर, तीमध्ये अस्पतालको ढोकासम्म पुग्नेहरू निकै कम छन्। खासगरी मधेश प्रदेशमा यो समस्या अरु प्रदेशको तुलनामा धेरै देखिन्छ। जहाँ गरिबी र उपचारको अभावमा मानिसहरू जलनको पिडालाई सहेरै बाँच्न विवश छन्। यस्तै पीडामा रहेका केही जलनका बिरामीहरु वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ बाट लाभान्वित भएका छन्। 

नारायणी अस्पताल, नबिल बैंक र फेक्ट नेपालको संयुक्त प्रयासमा वैशाख १७ देखि २० गतेसम्म शिविरको आयोजना गरिएको थियो। चार दिने शिविरमा १५० जना बिरामीले परामर्श सेवा लिए भने ४६ जनाको नि:शुल्क शल्यक्रिया भएको थियो। शिविरमा देखिएको बिरामीको चापले नेपालमा जलनको उपचार कति दुरुह छ भन्ने छर्लङ्ग पारेको छ।

मधेशः जलनको केन्द्र र उपचारको चुनौती

पछिल्लो तीन वर्षको तथ्याङ्कले मधेश प्रदेशमा डढेका बिरामीको संख्या तीव्र रूपमा बढिरहेको देखिएको छ। कीर्तिपुर अस्पतालले अँजोरियालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार २०८२ सालमा देशभर उपचारका लागि आएका कुल आठ सय ५० जना डढेका बिरामीमध्ये मधेश प्रदेशका मात्रै दुई सय २० जना रहेका छन्। यो कुल बिरामी संख्याको करिब २६ प्रतिशत हो, जुन प्रदेशगत हिसाबमा बागमतीपछि सबैभन्दा बढी हिस्सा हो।

२०८० सालमा मधेश प्रदेशबाट एक सय २३ जना डढेका बिरामी उपचारका लागि पुगेका थिए। यो संख्या २०८१ मा बढेर एक सय ४७ पुगेको थियो भने २०८२ मा दुई सय २० पुगेको छ। २०८० र २०८२ सालको संख्या तुलना गर्दा मधेश प्रदेशमा डढेका बिरामीको संख्या करिब ७९ प्रतिशतले वृद्धि भएको देखिन्छ।

तथ्याङ्कअनुसार २०८२ मा बागमती प्रदेशबाट २ सय ८१ जना बिरामी उपचारका लागि पुगेका छन्। संख्यात्मक रूपमा बागमती प्रदेशमा संख्या बढी देखिए पनि राजधानी केन्द्रित ठूला अस्पताल तथा उपचार सेवा उपलब्ध भएकाले त्यहाँ अन्य प्रदेशका नागरिक तथा अस्थायी रूपमा बसोबास गर्ने बिरामीहरू पनि उपचारका लागि पुग्ने गरेका कारण यो संख्या उच्च देखिएको किर्तिपुर अस्पताल प्रशासनले जनाएकोे छ।

त्यसैगरी, २०८२ मा कोशी प्रदेशबाट ८६ जना, गण्डकीबाट ५०, लुम्बिनीबाट १ सय ११, कर्णालीबाट ६०, सुदूरपश्चिमबाट ३९ तथा भारतीय नागरिक ३ जना उपचारका लागि पुगेका छन्।

असुरक्षित खुल्ला चुल्हो, जाडोमा ताप्न बालिने ‘घुर’, तातो झोल पदार्थ र विजुलीका नाङ्गा तारहरू मधेशका लागि अभिशाप बनिरहेका छन्। अझ भयावह पाटो त के छ भने, तराई-मधेसका जिल्लाहरूमा दाइजो र लैङ्गिक हिंसाका कारण हुने ‘नियतवश’ जलनका घटनाहरू पनि देखिएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विभिन्न स्वास्थ्य निकायहरूको अनुमान अनुसार नेपालमा वार्षिक ५५ देखि ६० हजार मानिस जलनको शिकार हुन्छन्। तर, ती सबै अस्पताल पुग्दैनन्। कीर्तिपुर बर्न अस्पतालको तथ्याङ्कले त झन् डरलाग्दो यथार्थ देखाउँछ, त्यहाँ पुग्ने बिरामीमध्ये ९२ प्रतिशत उपत्यका बाहिरका हुन्छन्, जसमा मधेशको हिस्सा ठूलो छ। कीर्तिपुर अस्पतालका प्रबन्ध निर्देशक डा. किरण नकर्मीका अनुसार अस्पताल आउनेमध्ये केवल १० देखि १५ प्रतिशत मात्र उपचार खर्च व्यहोर्न सक्ने अवस्थाका हुन्छन्, बाँकी सबैका लागि उपचार ‘आकाशको फल’ सरह हुन्छ।

महँगो उपचार र सरकारी उपेक्षा 

जलनको उपचार तुलनात्मक रुपमा महँगो हुन्छ। शल्यक्रिया, लामो समयको अस्पताल बसाई र त्यसपछिको ‘फिजियोथेरापी’का लागि लाखौँ खर्च हुन्छ। सरकारले एसिड पीडितहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरे पनि आगो, तातो पानी तथा अन्य कारणले जलेका बिरामीहरुका लागि कुनै ठोस कार्यक्रम छैन।

यही अभावका कारण धेरै बिरामीहरू घरमै घरेलु उपचार गरेर बस्छन्, जसले गर्दा पछि घाउ निको भए पनि अङ्गहरू खुम्चिएर कामै नलाग्ने हुन्छन्। देशभरि जलनको उपचार हुने सिमित ठाउँहरू छन र ती सबै संघीय राजधानी उपत्यकामा अवस्थित छन्: कीर्तिपुर बर्न अस्पताल, सुषमा कोइराला मेमोरियल अस्पताल (साँखु), त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताल। यी प्रमुख अस्पतालहरूमा वर्षभरिमा करिब १७ सय हाराहारीले मात्र सेवा पाउने गरेको तथ्याङ्क छ। वार्षिक ६० हजार मानिस जल्ने देशमा यो सङ्ख्या निकै न्यून हो।

१५० जनाको जलनमा नबिलको मलम

यही जटिल अवस्थालाई मध्यनजर गर्दै नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मधेशका बिरामीलाई लक्षित गरी शाख १७ देखि २० गतेसम्म शिविर सञ्चालन गरेको थियो। फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले ६ जिल्लाका २७ पालिकामा पुगेर बिरामी पहिचान गरेपछि मात्र शिविर सुरु गरिएको थियो। 

शिविरमा ४ दिनको अवधिमा १५० जना जलन पीडितहरूले विशेषज्ञ परामर्श र उपचार सेवा पाए। वर्षौंदेखि जलनकै कारण हातखुट्टा चलाउन नसक्ने भएका, घाँटी खुम्चिएका र दैनिक काम गर्न नसक्ने भएका ४६ जनाको पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिएको छ। जटिल अवस्थाका ६ जनालाई थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ। 

वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार वर्षौंदेखि पीडा सहेर बसेका जलनका बिरामीहरू अब पुनः सामान्य जीवनमा फर्कने विश्वास गरिएको छ। 

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहकाअनुसार मधेशमा जलन सम्बन्धी बिरामीको संख्या धेरै भएपनि यहाँ उपचार गर्ने कुनै विशेष सुविधा छैन। अहिलेसम्म सर्जरी विभाग वा छाला तथा चर्मरोग विभागले हेरीरहेको भएपनि २० देखि ३० प्रतिशभन्दा बढी जलन भएका बिरामीलाई कीर्तिपुर बर्न अस्पतालमै रिफर गर्ने गरिएको डा. सिंहले अँजोरियालाई बताए। 

वीरगञ्जको सफल शिविरपछि यही शिविर लुम्बिनी प्रदेशमा वैशाख २८ गतेसम्म सञ्चालनमा भइरहेको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली भन्छन्, “आर्थिक अभावमा कसैले पनि जलनको पीडा सहेर बस्न नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरेका हौँ।”

यस्ता शिविरहरूले तत्कालका लागि राहत त दिएका छन्, तर नेपालमा जलनको समस्या समाधान गर्न राज्यस्तरबाटै हरेक प्रदेशमा सुविधायुक्त ‘बर्न युनिट’ र निःशुल्क उपचारको नीति ल्याउनुपर्ने आवश्यकता औँल्याउँछन् नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा. चित्तरन्जन साह। उनले अँजोरियासँग भने, “जलनको उपचार आफैमा जटिल छ, अनि महङ्गो पनि छ। यसका लागि सरकारले नै विशेष योजना र कार्यक्रम ल्याएर बजेट विनियोजन गरी प्रभावकारी ढंगले कार्यन्वयन गर्न जरुरी छ।”