वीरगञ्ज, २७ चैत। एसइई सकिएपछि “अब के पढ्ने ? कहाँ पढ्ने ? कति खर्च लाग्छ ?” भन्ने अन्योलमा परेका विद्यार्थी र अभिभावकका लागि वीरगञ्जमा फेरि ‘भविष्य मेला’ आयोजना हुने भएको छ ।
पर्सा, बारा, रौतहट लगायत आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै ‘भविष्य मेला’ को दोस्रो संस्करण आगामी वैशाख ५ गते शनिबार हुने तय गरिएको छ । मेला वीरगञ्जको सिद्धार्थ दियालो होटलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
एड्स बी मिडियाको आयोजनामा हुने यस मेलामा २५ भन्दा बढी कलेज एउटै ठाउँमा रहनेछन् । यसले विद्यार्थीलाई कलेज–कलेज धाएर जानकारी लिनुपर्ने झन्झट हटाउने आयोजकको विश्वास छ ।
मेला निर्देशक नवीन कार्कीका अनुसार, यो मेला केवल कलेजहरूको प्रदर्शनी मात्र होइन । विद्यार्थीले आफ्नो रुचि, क्षमता र आर्थिक अवस्थाअनुसार कुन विषय रोज्ने भन्ने जानकारी पाउने अवसर पनि हो । विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा र प्राविधिक शिक्षा लगायतका विषयबारे यहाँ प्रत्यक्ष जानकारी लिन सकिनेछ ।
मेलामा आउने विद्यार्थीले निःशुल्क करियर काउन्सिलिङ सेवा पाउनेछन् । साथै, कलेजहरूले उपलब्ध गराउने छात्रवृत्ति, शुल्क, पढाइको गुणस्तर र भविष्यका अवसरबारे पनि बुझ्न सकिनेछ । आयोजकका अनुसार, ग्रामीण र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति र सहयोगका अवसरसमेत प्रदान गरिनेछ ।
यस पटक मेलामा केही आकर्षक व्यवस्था पनि राखिएको छ । लक्की ड्र मार्फत एक जना विद्यार्थीले मोबाइल फोन, पाँच जनाले एयरबड्स र अन्यले पावर बैंक तथा स्मार्ट वाच जित्न सक्नेछन् ।
त्यसैगरी, मेलामा निःशुल्क बैंक खाता र डिम्याट खाता खोल्ने, आँखा जाँच गर्ने तथा नेपाल टेलिकमको सिम कार्ड लिने सुविधा पनि उपलब्ध हुनेछ । यसले विद्यार्थीलाई पढाइसँगै वित्तीय जानकारी लिन पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
आयोजकका अनुसार, यस मेलाबाट करिब आठ हजार विद्यार्थी र अभिभावक लाभान्वित हुने लक्ष्य राखिएको छ ।
गत वर्ष वीरगञ्जको टाउन हलमा भएको पहिलो संस्करणमा १० जिल्लाबाट पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
वीरगञ्ज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघको सहकार्यमा मेला आयोजना हुन लागेको हो ।



