नयाँ वर्ष २०८३ सुरु भएको छ। पात्रो फेरिएको छ, समय फेरिएको छ, र स्वाभाविक रूपमा अपेक्षाहरू पनि फेरिएका छन्। देशमा नयाँ सरकार छ, नयाँ मन्त्रीहरू छन्, संसदमा नयाँ र युवा अनुहारहरूको उपस्थिति देखिएको छ। यो आफैंमा सकारात्मक संकेत हो, पुरानो ढाँचाबाट बाहिर निस्कने सम्भावनाको झल्को।
नयाँ सरकार आएसँगै प्रशासनिक कामकारबाहीमा केही चुस्तता देखिन थालेको अनुभूति पनि छ। निर्णय प्रक्रियामा गति आएको जस्तो देखिन्छ। २०७९ मा तत्कालीन देउवा सरकारले विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा इधन खपत कम गर्न परीक्षण स्वरूप शनिबार-आइतबार दुई दिन बिदा लागू गरेको थियो। हाल बालेन्द्र सरकारले हप्तामा दुई दिन बिदा र पाँच दिन काम गर्ने अभ्यासको सुरुवातले कार्यसंस्कृतिमा फेरि पनि सुधारको बहस पनि सुरु गरेको छ। यदि यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने, यसले उत्पादकत्व र कामप्रतिको प्रतिबद्धता दुवै बढाउन सक्छ।
तर यथार्थ यति मात्र होइन।
बाहिर देखिने परिवर्तन र भित्रको अवस्थाबीच अझै ठूलो अन्तर छ। अधिकांश मानिसहरूको सोच र मानसिकता पुरानै ढाँचामा अड्किएको छ। तथ्य र तर्कमा आधारित बहसभन्दा भावनामा बगेर प्रतिक्रिया दिने, बिना प्रमाण आरोप लगाउने र सामाजिक सञ्जाललाई गालीगलौजको थलो बनाउने प्रवृत्ति घटेको छैन। विचार फरक हुन सक्छ, तर असहिष्णुता किन यति धेरै?
शान्ति र सहिष्णुताको सन्देश दिने गौतम बुद्धको देशका नागरिकमा नै धैर्यता र सभ्यता कमजोर देखिनु गम्भीर चिन्ताको विषय हो। बहस गर्ने संस्कृति विकास हुनुको सट्टा, व्यक्तिमाथि आक्रमण गर्ने प्रवृत्ति बढ्दै जानु लोकतान्त्रिक अभ्यासका लागि राम्रो संकेत होइन।
अर्कोतर्फ, देश अझै विकासोन्मुख अवस्थामै छ। आर्थिक संरचना मजबुत हुन सकेको छैन। युवाहरूमा ऊर्जा छ, क्षमता छ, तर अवसर छैन। त्यसैले विदेशिने क्रम पुरानै गतिमा जारी छ। ‘केही समयका लागि’ भनेर विदेश गएका युवाहरू फर्किने सुनिश्चितता छैन, किनकि स्वदेशमै रोजगारीको वातावरण निर्माण हुन सकेको छैन।
बेरोजगारीको समस्या गम्भीर बन्दै गएको छ। रोजगारी पाइने अवस्थामा पनि न्यूनतम पारिश्रमिक सुनिश्चित छैन। अझ निजी क्षेत्रमा काम गर्नेहरूको अवस्था झनै चिन्ताजनक छ, न कामको सुरक्षा, न उचित तलब, न सामाजिक सुरक्षा।
यसैबीच, पत्रकारिता क्षेत्र पनि आत्मसमीक्षाको मोडमा उभिएको छ। माइक र क्यामेरा समाएर बोल्ने प्रवृत्ति बढ्दो छ, तर पत्रकारिताको आधारभूत मूल्य—तथ्य, सन्तुलन र जिम्मेवारी—कमजोर हुँदै गएको छ। आचारसंहितालाई अचार बनाएर सामाजिक सञ्जालमा भ्युज बटुल्ने र टीआरपी कमाउने होडले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
सूचना दिनु र प्रभाव पार्नु फरक कुरा हो। जब पत्रकारिता प्रभावको लोभमा पर्छ, तब सत्य ओझेलमा पर्छ।
यही परिवेशमा ‘अँजोरिया डटकम’ले आफ्नो स्पष्ट धारणा राख्न चाहन्छ। हामी भ्युजको पत्रकारिता गर्न आएका होइनौं, न्युजको पत्रकारिता गर्न आएका हौँ। तथ्यमा आधारित, निष्पक्ष, जिम्मेवार र विश्वसनीय पत्रकारिता हाम्रो प्राथमिकता हो। दर्शक/पाठकको ध्यान तान्नका लागि होइन, उनीहरूलाई सही सूचना दिनका लागि हाम्रो प्रयास हुनेछ।
नयाँ वर्षको सन्दर्भमा अपेक्षा धेरै छन्, तर ती अपेक्षा केवल भाषणमा सीमित नहोस्। फागुन २१ को निर्वाचनमा जनताले दिएको जनादेश केवल सरकार गठनका लागि होइन, जनताको जीवनस्तर सुधारका लागि हो। त्यो जनादेशको सम्मान व्यवहारमा देखिनुपर्छ।
हामी चाहन्छौं, ऊर्जाशील युवाहरू विदेशिन बाध्य न होऊन्, स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सिर्जना होस्। न्यूनतम पारिश्रमिक सुनिश्चित होस्, श्रमिकको अधिकार सुरक्षित होस्। दलित, महिला तथा सीमान्तकृत समुदायले राज्यमा अपनत्व महसुस गरून्, केवल नारामा होइन, व्यवहारमा पनि। केवल कार्यक्रम र नीतिमा होइन, विधि र कार्यन्वयनमा पनि।
नयाँ वर्ष केवल पात्रो फेरिने दिन नबनोस्। सोच फेरिने, व्यवहार सुधारिने, जिम्मेवारी बोध हुने अवसर बनोस्।
नयाँ वर्ष २०८३ को सबैमा शुभकामना!


