वीरगञ्ज, १० बैशाख। निर्देशक माइकल चन्दको लेखन र निर्देशनमा तयार भएको चलचित्र ‘राम नाम सत्य’ पर्दामा सुरु हुनासाथ कारुणिक परिवेशबाट अगाडि बढ्छ । गाउँ नै जलाइने र निरिह गाउँलेहरूलाई शक्ति र सत्ताको आडमा जबरजस्ती औँठाछाप लगाउन बाध्य पारिने दृश्यले सुरुवातमै दर्शकको मुटु चसक्क बनाउँछ ।
यो दृश्यले केवल चलचित्रको पृष्ठभूमि मात्र बाँध्दैन, दर्शकको मानसपटलमा कौतुहलता समेत पैदा गरिदिन्छ । विशेषगरी देशको केही समयअघिको अस्थिरता र भ्रष्टाचारको ऐनाका रूपमा चलचित्रले आफूलाई प्रस्तुत गरेको छ, जहाँ अन्याय विरुद्ध उठेका आवाजहरूलाई सशक्त ढंगले उठाइएको छ ।
चलचित्रको मेरुदण्ड यसको एक्सन र कलाकारहरूको अभिनय हो । विराज भट्ट र सुशील श्रेष्ठ एकैसाथ पर्दामा देखिनुले एक्सन मन पराउने दर्शकमा अझै चासो बढेको देखिन्छ । चलचित्रमा पस्किएका एक्सन दृश्यहरूले कतिपय अवस्थामा दक्षिण भारतीय (साउथ ईन्डियन) चलचित्रको स्तरलाई समेत बिर्साइदिन्छन् । तर विराज भट्टलाई दिइएको पश्चिमेली लवज भने केही नसुहाएको हो की भन्ने भान पनि हुन्छ । अर्कोतर्फ, दिब्या रायमाझीले आधुनिक राजकुमारीको भूमिकामा आफूलाई राम्रोसँग ढालेकी छन् भने सुपुष्पा भट्टले निडर पत्रकारको भूमिकालाई न्यायपूर्ण ढंगले निभाएकी छन् ।
यस चलचित्रमार्फत टिकटकबाट अत्यधिक चर्चा कमाएका आयुष सिंह ठकुरी र खुशी कार्कीले नेपाली चलचित्र क्षेत्रमा सुखद ‘डेब्यु’ गरेका छन् । आयुषलाई पर्दामा हेर्न आतुर दर्शकका लागि उनको छोटो तर महत्वपूर्ण भूमिकाले प्रभाव छोड्छ । यद्यपी आयुषको भूमिका के हो भन्ने बारेमा दर्शक स्पष्ट भने हुन सक्दैनन् । तर यसको सिक्वेल (पार्ट २) आउने भनिएको छ । त्यसले यी सबै कौतुहलता मेटाउनकै लागि यो सस्पेन्स राखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
त्यस्तै, खुशी कार्कीले विराज भट्टसँगको चर्चामा रहेको गीत ‘हुम्लाको लिमी’ मा जस्तै अभिनयमा पनि आफ्नो राम्रो सम्भावना देखाएकी छन् । दिवंगत अभिनेता सुनील थापा, प्रशान्त ताम्राकार र दिनेश डीसी जस्ता दिग्गज कलाकारहरूको उपस्थितिले चलचित्रको ओझ अझै बढाएको छ ।
प्राविधिक र सांगीतिक पक्ष चलचित्रको अर्को बलियो कडी हो । बबुल गिरी, अर्जुन पोखरेल, एस डी योगी र नवाज अन्सारीको सामूहिक संगीतले चलचित्रलाई सांगीतिक रूपमा समृद्ध बनाएको छ । चलचित्रको ‘ब्याकग्राउण्ड म्युजिक’ ले दृश्यको गाम्भीर्यतालाई जीवन्त बनाएको छ भने शेर बहादुर लामाको उत्कृष्ट छायांकनले पर्दामा देखिने दृश्यहरूलाई अझै हेरीरहुँ लाग्ने बनाएको छ । करिब ३ करोडको लगानीमा निर्माण भएको यो चलचित्रले लगभग लगानी उठाइसकेको निर्माण पक्षको दाबी छ ।
दैलेखको पेट्रोल खानीको विषयलाई लिएर बनाइएको चलचित्रले पेट्रोल खानीको अवस्था बारे भने विस्तृत रुपमा दर्शकलाई बुझाउन नसकेको देखिन्छ । यद्यपी यो चलचित्रमा लुकेका अकल्पनीय ‘ट्वीस्ट’ र ‘टर्न’ हरू नै यसका मुख्य आकर्षण हुन् ।
कथाको प्रवाहमा यस्ता मोडहरू आउँछन् जसले दर्शकलाई सोच्न बाध्य बनाउँछ । ती सबै रहस्यहरू अहिले नै खोल्ने हो भने चलचित्र हेर्दाको वास्तविक मज्जा नै हराउन सक्छ, त्यसैले ती ट्वीस्टहरू थाहा पाउन भने दर्शक आफैँ हलसम्म पुग्नुपर्ने हुन्छ । समग्रमा, यदि तपाईं नेपाली माटोको कथामा बनेको उच्च स्तरको एक्सन र सस्पेन्सले भरिएको चलचित्र हेर्न चाहनुहुन्छ भने ‘राम नाम सत्य’ एक उत्कृष्ट रोजाइ हो ।



