मदन पुरस्कार विजेता अमर न्यौपानेको सुप्रसिद्ध उपन्यास ‘सेतो धर्ती’ का पानाहरू जब कान्तिपुर थिएटरको रङ्गमञ्चमा पल्टिन थाल्छन्, तब दर्शकहरू केवल एउटा कथा हेरिरहेका हुँदैनन्, बरु एउटा जीवन्त युगको साक्षी बनिरहेका हुन्छन्। निर्देशक सुन्दर धितालको कलात्मक निर्देशन र अभिनेत्री रेखा थापाको निर्माणमा तयार भएको यो नाटकले नेपाली समाजमा गढेर बसेको बालविवाह, महिनावारी विभेद र बाल–विधवाका कारुणिक पीडाहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। जसलाई हेर्दा आँखा नरसाउने दर्शक कोही हुँदैनन्।

नाटकको सुरुवातमै सानोमा भाँडाकुडी खेलेर, माटोको सिन्दूर हालेर अबोध बाल्यकाल बिताइरहेकी ‘तारा’ जब आफ्नै घर पुग्दा साँचो दुलही बन्ने तयारीमा हुन्छिन्, तब दर्शकको मनमा ऐठन हुन्छ। बाल मस्तिष्कले के भइरहेको छ भन्ने भेउ समेत नपाउँदै ताराको विवाह मात्र हुँदैन, लगत्तै ऊनी बाल–विधवा बन्छिन्।

यो दृश्यलाई रङ्गमञ्चमा झनै प्रभावकारी ढङ्गले उतारिएको छ। नेपाली चलचित्रमा आफ्नो परिचय बनाइसकेकी बेनिशा हमालले ताराको भूमिका मार्फत पहिलो पटक रङ्गमञ्चमा पाइला टेके पनि उनको अभिनयमा कतै कसिलोपन हराएको छैन। उनको एकलपन, मौन विद्रोह र प्रत्येक हाउभाउले ताराको चरित्रलाई न्याय मात्र गरेको छैन, बरु दर्शकलाई त्यो पात्रसँगै रुन र सोच्न बाध्य बनाएको छ।

नाटकको अर्को सबैभन्दा बलियो र प्रशंसनीय पक्ष भनेको यसको संगीत र पाश्र्व ध्वनि हो। नेपथ्यमा गुन्जिने अनुप तिमिल्सिना र पूजा विश्वकर्माको कर्णप्रिय स्वर र उनीहरूले नै दिएको संगीतले नाटकमा ‘सुनमा सुगन्ध’ थपिदिएको छ।

जब ताराको जीवनका रिक्तताहरू र समाजका बन्देजहरू देखाइन्छ, तब नेपथ्यबाट गुन्जिने उनीहरूको मधुर र मन्त्रमुग्ध पार्ने स्वरले नाटकलाई अझ बढी जीवन्त र हृदयस्पर्शी बनाउँछ।

खासगरी रजस्वला भएको समयमा गरिने विभेदलाई देखाउँदै गर्दा ताराले सोध्ने प्रश्न— “यो अर्न नि नहुने, त्यो अर्न नि नहुने, अर्न चाँही के हुन्छ आमा?” र किशोरावस्थामा आउने शारिरीक र मानसिक परिवर्तनलाई लक्षित गर्दै ताराले बोल्ने “रङ्गहीन शरीरमा रङ्गीन सपना किन देखायो?” ले दर्शकको मन छुन्छ।

प्राविधिक रूपमा पनि नाटक अत्यन्तै उत्कृष्ट छ। सेट डिजाइन, प्रकाश संयोजन र २४ जना कलाकारहरूको समूहगत कार्यले नाटकलाई कतै पनि फितलो हुन दिएको छैन। सुहाना आचार्यदेखि वर्षा भण्डारीसम्मका कलाकारहरूको अभिनयमा खोट लगाउने ठाउँ छैन। उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, बिनिता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल, विरान दहनी, आवास भट्टराई, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, अलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, तेजस्वी शर्मा, स्वीकृति पन्त, रबीन पुन मगर लगायतका कलाकारहरूको अभिनय नाटकमा देखिन्छ।

कान्तिपुर थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’ र ‘महारानीको जात्रा’ जस्ता सफल नाटकहरू मञ्चन गरिसकेको छ। ‘सेतो धर्ती’ एकेडेमीले मञ्चन गरेको चौथो प्रस्तुति हो।

गैह्रीधारास्थित थिएटरमा सिटहरू सबै ‘हाउसफुल’ हुँदा समेत दर्शकहरू भुईँमा बसेर वा सिँढीमा उभिएर भए पनि नाटक हेर्न लालायित हुनुले ‘सेतो धर्ती’ प्रतिको अगाध प्रेमलाई प्रमाणित गरेको छ। कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीकाअनुसार साहित्य र रङ्गमञ्चलाई जोड्ने उद्देश्यअनुरुप बहुचर्चित कृतिलाई रंगमञ्चमा देखाउने प्रयास गरिएको हो।

‘सेतो धरती’ मञ्चन विवरण

समय: हरेक साँझ ५ बजे (बुधबार बाहेक); अतिरिक्त मञ्चन शनिबार र आइतबार दिउँसो १ बजे
स्थान: कान्तिपुर थिएटर, गैरीधारा, काठमाडौँ 
मञ्चन अवधि: वैशाख १९ गतेसम्म

Author

सूर्य शुभचिन्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *