बैशाख १८, सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालको किनारमा पुग्दाको दृश्य बडो गजबको थियो। एउटा कार्यक्रम भन्दा पनि गाउँ, प्रकृति र सिनेमा एकै ठाउँमा भेटिएको दृश्य जस्तो अनुभव भयो। तालछेउमै सजाइएको मञ्च, वरिपरिको हरियाली र मञ्चअगाडि भेला भएका स्थानीयको अनुहारमा देखिएको उत्साहले कार्यक्रमलाई अझ रोचक बनाएको थियो। त्याहाँ चलीरहेको थियो, पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’। महोत्सव अवधिभर १७ वटा फिल्म प्रदर्शन गरियो। जुन विभिन्न भाषा, र संस्कृतिसँग सम्बन्धीत थिए।
मधेश प्रदेशको कथा, जीवनशैली र पर्यटनलाई केन्द्रमा राखेर गरिएको यो महोत्सवमा परम्परागत झाँकीहरूले विशेष आकर्षण थपेका थिए। विभिन्न जातजातिका भेषभूषामा सजिएका सहभागीहरूले मधेशको विविधतालाई झल्काइरहेका थिए। त्यो दृश्यले सिनेमा केवल पर्दामा होइन, मञ्चअगाडि पनि जीवित छ भन्ने आभास गराउँथ्यो।

कार्यक्रमको एक महत्वपूर्ण पाटो ‘उर्वर भूमि मधेशः स्क्रिनदेखि स्थलसम्म-सिनेमा पर्यटन संवाद’ रह्यो। संवादमा सहभागी वक्ताहरूले मधेशका कथा अझै नेपाली सिनेमामा पर्याप्त रूपमा नआएको कुरा उठाए। उनीहरूको भनाइ सुन्दा लाग्थ्यो, यो महोत्सव केवल प्रदर्शन होइन, एउटा प्रश्न पनि हो, “हाम्रो कथा किन अझै पर्दामा पूर्ण रूपमा आएको छैन?”

समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले गाउँगाउँका कथा सिनेमामा आउनुपर्ने धारणा राख्दा मञ्चअगाडि बसेका धेरैका अनुहारमा सहमतिको भाव देखिन्थ्यो। स्थानीय जनप्रतिनिधिहरूले पनि यस्ता कार्यक्रमले सर्लाहीलाई चिनाउन मद्दत पुगेको भन्दै खुशी व्यक्त गरे।
आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले सिनेमा हल नपुगेका ठाउँमा फिल्म पु-याउने र ती क्षेत्रलाई छायांकनका लागि प्रेरित गर्ने उद्देश्य सुनाए। तीन दिनसम्मको महोत्सवले कार्यक्रमको उद्देश्य पुरा भएको पनि उनले दाबी गरे।
महोत्सवकै क्रममा नाढीमन ताललाई छायांकन स्थलका रूपमा सूचीबद्ध गर्न मागपत्र हस्तान्तरण गरिएको थियो।
समापनकै अवसरमा गायक रविराज साहको ‘जेकर पिया नाही घरे’ गीत सार्वजनिक भयो। वैदेशिक रोजगारीका कारण घरभित्रको जीवनमा आउने खालीपनलाई देखाउने गीतले अधिकांश दर्शकलाई आफ्नै कथा गीतमा चित्रण भएको अनुभूती हुन्थ्यो। गायक साहसँगै शिल्पी राजको पनि आवाज रहेको गीतको भिडियोमा गायक रविराज साहसँगै सिम्रन साहको अभिनय छ। जुन गीतको भिडियो पनि गायक साहकै गृहनगर चन्द्रनगरकै विभिन्न स्थानमा छायांकन गरिएको छ।
नाढीमन ताल आफैंमा एउटा ऐतिहासिक ताल हो। ५२ बिगाहाको नामबाट पनि परिचित रहेको यो क्षेत्र, राणाकालीन समयदेखि महाभारतकालीन सन्दर्भसम्म जोडिने चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए।

महोत्सवका अवार्डहरू पनि यही माहोलबीच घोषणा भए। उत्कृष्ट फिल्म ‘मोहर’ घोषित हुँदा सोही फिल्मका लागि ओमप्रतिक गुरुङ उत्कृष्ट निर्देशक बने। ‘गुन्युचोलो’ का नाजीर हुसेन उत्कृष्ट अभिनेता र ‘कोशेढुंगा’ बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री घोषित भए। उत्कृष्ट पटकथामा ‘गुन्युचोलो’ का समुन्द्र भट्ट पुरस्कृत भइन्।
‘माइतीघर’ का निर्देशक मिलन तामाङले जुरी अवार्ड पाए भने ‘कोशेढुंगा’ बाट मन्जिलकुमारले प्रोत्साहन अवार्ड जिते। सोही फिल्मका नहकुल खड्क उत्कृष्ट सम्पादक र बाबु श्रेष्ठ उत्कृष्ट छायाँकार बने। ‘नाक्छोङ’ उत्कृष्ट आदिवासी फिल्म र ‘नीलो आकाश’ उत्कृष्ट छोटो फिल्म घोषित भए।
‘हिमाल, पहाड, तराई-कोही छैन पराई’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव बीच–बीचमा परेको वर्षाले केही अवरोध गरे पनि समग्रमा सफल रह्यो। यो महोत्सवले एउटा अनुभूति छोडेको छ, सिनेमा शहरमै मात्र सीमित छैन, गाउँको माटोमै पनि उत्तिकै गहिरो छ।





