वैशाख २४, वीरगञ्ज। हरेक वर्ष सिँचाइको समयमा बारा र रौतहटका किसानको एउटै चिन्ता हुन्छ, “भारतले गण्डक नहरमा पानी कहिले छोड्ला र खेती गरौँला?” गण्डक सम्झौता अनुसार नेपालले पाउनुपर्ने पानीका लागि पनि भारतकै मुख ताक्नुपर्ने र उसले पानी छोडेपछि मात्रै यता सिँचाइ सुरु हुने बाध्यता दशकौँदेखि कायम छ। तर, अब यो पराधीनताको अवस्था सधैँका लागि अन्त्य हुने भएको छ।

गण्डक नहरको विकल्प र नेपाली किसानको आफ्नै नियन्त्रणमा रहने गरी निर्माण भइरहेको‘जमुनी सिँचाइ आयोजना’ अब अन्तिम चरणमा प्रवेश गरेको छ। २०८४ सालको सुरुवातमै यो आयोजना सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ।

९ हजार ५०० हेक्टरमा बाह्रै महिना सिँचाइ
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगञ्जका अनुसार यो आयोजनाले विशेषगरी गण्डक नहरको पुछारमा रहेका र हालसम्म पानी नपुगेका क्षेत्रलाई समेट्नेछ। बाराको आदर्शकोतवाल गाउँपालिका-८ मा निर्माणाधिन जमुनी सिँचाइ आयोजना सम्पन्न भएपछि रौतहटको करिब साढे ८ हजार ५ सय हेक्टर र बाराको १ हजार हेक्टर गरी कुल ९ हजार ५ सय हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्नेछ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेल भन्छन्, “गण्डक नहरको ब्लक नम्बर १३, १४ र १५ मा अहिलेसम्म पर्याप्त सिँचाइ पुग्न सकेको छैन। जमुनी आयोजना सञ्चालनमा आएपछि ब्लक नम्बर ११ देखि १५ सम्मका किसानले बाह्रै महिना पानी पाउनेछन्। यो हाम्रै स्रोत र नियन्त्रणको पानी हुने भएकाले किसानले चाहेको बेला सिँचाइ गर्न पाउनेछन्।”

निर्माणको आरोह–अवरोह र वर्तमान अवस्था
आर्थिक वर्ष २०७२/७३ देखि सुरु भएको यो महत्वाकांक्षी आयोजनाले धेरै उतारचढाव झेलेको छ। सुरुमा कुमार आशिष अमर जेभीसँग साढे २२ करोडको सम्झौता भएर व्यारेजको संरचना बने पनि गेटको डिजाइन स्वीकृत नहुँदा काम रोकिएको थियो। हाल गेटको डिजाइन र स्टिमेट स्वीकृत भई नयाँ निर्माण कम्पनी एमएस ईशान कन्स्ट्रक्शन प्रालिले १२ करोड १२ लाख ३ हजार ८१७ रुपैयाँमा बाँकी कामको जिम्मा लिएको छ।

सूचना अधिकारी, ई. सुरेश प्रसाद साह

कार्यालयका सूचना अधिकारी ईन्जिनियर सुरेश प्रसाद साहका अनुसार अहिले गेट निर्माणको काम सिन्धुलीको वर्कशपमा धमाधम भइरहेको छ। “२०८० असारमा पुनः सम्झौता भएर २०८४ साउन २० सम्म काम सक्ने लक्ष्य छ। हाल कर्मचारी आवास र कन्ट्रोल रुम निर्माण भइरहेका छन्,” साहले अँजोरियासँग कुरा गर्दै थपे, “यो आयोजना ७ सय क्युसेक (७ हजार ५ सय लिटर प्रतिसेकेन्ड) पानीका लागि डिजाइन गरिएको हो, जसले गण्डकको पानी अपुग हुने समस्या सदाका लागि टार्नेछ।”

निर्माणाधिन कन्ट्रोलर रुम र कर्मचारी आवास कक्ष

जमुनी खोलाः बाह्रै महिना पानीको स्रोत
चुरेको भावर क्षेत्रबाट उद्गम भएको जमुनी खोलामा हिउँदमा पनि निरन्तर पानी बग्छ। प्राविधिकहरूका अनुसार सामान्य अवस्थामा यो खोलामा २५ हजार लिटर प्रतिसेकेन्ड पानी आउँछ भने वर्षाको समयमा ४ लाख ४७ हजार लिटर प्रतिसेकेन्डसम्म बहाव पुग्छ। यही प्राकृतिक स्रोतलाई उपयोग गरेर व्यारेजमा १३ वटा ढोकाहरू निर्माण गरिएका छन्, जसमध्ये ४ वटा तल्लो भागमा र २ वटा हेड रेगुलेटरका रूपमा रहनेछन्।

सन् १९५९ को गण्डक सम्झौता अनुसार नेपालका ३७ हजार ४ सय हेक्टरमा सिँचाइ हुनुपर्ने भए पनि ८१ किलोमिटर लामो मूल नहरको पुछारमा रहेका ब्लकहरू सधैँ प्यासी रहन्थे। भारतले दिने पानी अपुग हुँदा किसानले बाली सुकेको टुलुटुलु हेर्नुपर्ने बाध्यता थियो।

ईन्जिनियर साह दाबी गर्छन्, “यो सञ्चालन हुने बित्तिकै भारतसँगको निर्भरता अन्त्य हुनेछ। यसको ‘चाबी’ हाम्रै हातमा हुन्छ। किसानलाई आवश्यकता परेको बेला तुरुन्तै पानी दिन सकिन्छ।”

२०८४ सालको सुरुदेखि नै खेतमा पानी पठाउने लक्ष्यका साथ निर्माण पक्षले काम गरिरहेको र कार्यालयले पनि यसको कडा निगरानी गरिरहेको साहले बताए। यदि योजनाबद्ध रूपमा काम सकिएमा बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानहरूका लागि जमुनी सिँचाइ आयोजना समृद्धिको बलियो आधार बन्ने कार्यालय प्रमुख पटेलको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *