Hari Khetan Multiple Campus, Birgunj

२०८२ चैत ०८ । वीरगञ्ज

वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक तथा प्राध्यापकहरूले दिएको अल्टिमेटम पुरा नहुँदा आइतबारदेखि पठनपाठन पूर्ण रूपमा ठप्प भएको कारण उक्त क्याम्पसका विद्यार्थीहरुको परिक्षा समेत अवरुद्ध भएको छ। 

हरि खेतान प्राध्यापक संघको चैत ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार क्याम्पस प्रशासनलाई चैत ६ गतेसम्म १६ बुँदे माग सम्बोधन गर्न अल्टिमेटम दिएको थियो। तर माग पूरा नभएपछि आइतबारदेखि कक्षा सञ्चालन बन्द गरिएको हो। संघले क्याम्पसको वर्तमान विधान खारेज गरी नयाँ विधान लागू गर्न, नवीकरण प्रक्रिया सुरु गर्न, विश्वविद्यालय अनुदान आयोगको अनुदान निरन्तरता सुनिश्चित गर्न लगायतका माग अघि सारेको थियो। साथै शिक्षक तथा प्राध्यापकहरूको तलबमान, सेवा–सुविधा, पदोन्नति, सञ्चय कोष, सामाजिक सुरक्षा कोषमा आबद्धता जस्ता विषयमा पनि सुधारको माग गरिएको छ। 

पुरानो विधानलाई निजि सरह बनाएकोले उक्त विधान खारेज गरि सामुदायिक क्याम्पसको मर्म अनुरुपको विधान हुनुपर्ने प्राध्यापक संघको मुख्य माग रहेको संघका एकजना सदस्य प्राध्यापकले बताउनु भयो। 

विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदान क्याम्पसको व्यवस्थापन समितिको लापरवाहीको कारण आर्थिक वर्ष २०८०/८१ देखि नै प्राप्त हुन नसकेको कारण देखाउदै प्राध्यापक संघले अल्टिमेटमसँगै आपती जनाएको हो। अनुदानको लागि पेश गरिएको कागजातमा सम्पूर्ण सदस्यको हस्ताक्षर, साधारण सभाले मनोनित गरेको सदस्य मध्येबाट अध्यक्ष र क्याम्पस सभाका साधारण सदस्यहरुबाट मनोनित आदि अपुग भएको २०८१ असार २५ गते विश्वविद्यालय अनुदान आयोगले हरिखेतान बहुमुखी क्याम्पसलाई पठाएको पत्रमा उल्लेख छ। 

यता क्याम्पस प्रमुख रविन्द्र यादवले संघको अल्टीमेटम बारे व्यवस्थापन समितिको अध्यक्षलाई जानकारी गराउँदा पनि प्रतिउत्तर नआएको बताए। “व्यवस्थापन समितिका अध्यक्ष काठमाण्डौ बस्नु हुन्छ, मैले यो सबै जानकारी गराईसकेको छु। तर उहाँ अहिले सम्म खै किन आउनु भएन, खै किन समितिको बैठक बस्न सकेको छैन? यो बारे मलाई केहिपनि जानकारी छैन।”

हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बीपी खेतानलाई सम्पर्क गर्न खोज्दा उहाँको मोबाइल स्वीच अफ आइरहेको छ भने समाचार तयार पार्दासम्म मैसेजको पनि जवाफ आउनसकेको छैन। 

यता शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सञ्चालन हुन नसकेपछि विद्यार्थीहरू पनि आक्रोशित बनेका छन्। आज विद्यार्थीहरूले वीरगञ्जको घण्टाघर अगाडि चक्का जाम गर्दै विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो। विद्यार्थीहरूले परीक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन्। शिक्षकहरूले भने आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान राखेका छन्। 

साथै, कक्षा १२ को बोर्ड परीक्षा समेत प्रभावित हुने भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्। कक्षा १२ को वार्षिक परिक्षा आउन लागेको तर हालसम्म त्रैमासिक, अर्धवार्षिक लगायतका कुनैपनि परिक्षा नभएको र आजदेखि हुने भनिएको परिक्षाको प्रश्नपत्र समेत नआएकोले क्याम्पस प्रशासन विरुद्ध प्रदर्शनमा उत्रिन बाध्य भएको एकजना विद्यार्थीले बताएका छन्। 

Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *