वीरगञ्ज, चैत २७। पर्सामा भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया तीव्र पारिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले तथ्यांक प्रविष्टि तथा कार्यान्वयनलाई गति दिँदै हालसम्म ५ हजार ४८६ निवेदन प्रविष्ट गरिसकेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगका अध्यक्ष तबरेज अहमदले मधेश प्रदेशमै दलित भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणमा पर्सा अग्रणी जिल्ला बनेको दाबी गरे । उनले जग्गा वितरणलाई केवल भौतिक सम्पत्तिसँग जोडिएको विषय नभई सुरक्षा, जीविकोपार्जन र सामाजिक न्यायसँग प्रत्यक्ष सम्बन्धित मुद्दाका रूपमा व्याख्या गरे ।
अध्यक्ष अहमदले पालिकाको सक्रियता अभाव हुँदा काममा ढिलाइ भइरहेको गुनासो गर्दै स्थानीय तहलाई प्रभावकारी रूपमा काम गर्न आग्रह गरे । “पालिकाले सक्रियता देखाएपछि मात्रै आयोगको काम देखिने हो,” उनले भने ।
उनका अनुसार भूमिहीन दलित र सुकुमबासीलाई कानुनबमोजिम निःशुल्क जग्गा उपलब्ध गराइनेछ भने अव्यवस्थित बसोबासीलाई आवश्यक राजस्व लिएर व्यवस्थापन गरिनेछ । वर्षौंदेखि राजस्व नतिरी प्रयोगमा रहेका जग्गालाई प्रक्रियामा ल्याई औपचारिक रूपमा उपयोग गर्ने व्यवस्था गरिने उनले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले भूमि सम्बन्धी काम पूर्ण रूपमा कानुनअनुसार भइरहेको स्पष्ट पार्दै निर्धक्क भएर प्रक्रिया अघि बढाउन आग्रह गरे । “भूमि सम्बन्धी ऐन २०२१ लगायतका कानुनी व्यवस्थाअनुसार काम गर्दा कुनै समस्या हुँदैन,” उनले भने ।
आयोगका सदस्य सचिव राकेश कुमार झाले हालसम्म ४४ जनालाई लालपूर्जा वितरण गरिसकिएको जानकारी दिए । उनका अनुसार जिल्लाका १४ वटै स्थानीय तहसँग समन्वय गरी कतै निवेदन प्रविष्टि र कतै नापजाँचको काम अघि बढाइएको छ ।
सरकारको निर्देशनअनुसार तथ्यांक प्रविष्टिदेखि प्रमाणिकरणसम्मका काम ६० दिनभित्र सम्पन्न गर्नुपर्ने र एक हजार दिनभित्र लालपूर्जा वितरण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो लगायत विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको समितिका सदस्य शिवनारायण रामले जानकारी दिए । कार्यक्रमको सहजीकरण समितिका विज्ञ सदस्य सन्तोष कुमार पासवानले गरेका थिए ।













