वीरगञ्ज, वैशाख ११

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सहरी विकासका लागि जिल्लाका विभिन्न स्थानमा रहेका अतिक्रमित संरचनाहरू हटाउने भएको छ। वीरगञ्जको गण्डक चोकदेखि जानकीटोला इनरवासम्म फैलिएको करिब २६ किलोमिटर क्षेत्रमा पर्ने गण्डक नहर किनारका घर–टहराहरू आगामी आइतबारदेखि भत्काउन सुरु गरिने पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगञ्ज अन्तर्गतको उक्त नहर क्षेत्रमा ३५ वटा पक्की र ३५५ वटा कच्ची गरी कुल ३९० वटा संरचनाहरू अवैध रूपमा निर्माण गरिएका छन्।

वीरगञ्ज महानगरपालिकासहित बहुदरमाई, पोखरिया नगरपालिकाहरु तथा सखुवाप्रसौनी र जगरनाथपुर गाउँपालिकाहरुसम्म फैलिएको यो नहर क्षेत्रलाई सुरक्षित, सफा र व्यवस्थित बनाउन प्रशासनले कार्ययोजना तयार पारेको छ। यसका लागि सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाहरूबीच आवश्यक समन्वय भइसकेको प्रजिअ दाहालले जानकारी दिए।

यसैगरी, सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ मा रहेको गुठी संस्थानको ५ बिघा १७ कठ्ठा जग्गा पनि आइतबार नै अतिक्रमण मुक्त गराइने तयारी छ। लामो समयदेखि व्यक्ति विशेषको कब्जामा रहेको उक्त जग्गामा बनेका ५ वटा पक्की ढलान सहित जम्मा ४४ वटा घर–टहराहरू भत्काइने तयारी छ। सो क्षेत्रमा ऐतिहासिक पारसनाथ मन्दिर समेत रहेको छ, जसकै नामबाट ’पर्सा’ जिल्लाको नामाकरण गरिएको किंवदन्ती छ। यस्तो धार्मिक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिकाले पनि विशेष चासो देखाएको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले बताए।

लामो समयदेखि सार्वजनिक जग्गा अतिक्रमण हुँदा विकास निर्माण र धार्मिक क्षेत्रको गरिमामा असर परेकाले यसलाई मुक्त गराउन लागिएको अध्यक्ष यादवको भनाई छ।

प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले आफ्नो कार्यकाली भरी पर्सा जिल्ला भरीका अतिक्रमित साबजनिक जग्गा खाली गराउने अठोट व्यक्त गरे।

Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *