Birgunj Metropolitan City Notice

वीरगञ्ज, १० बैशाख। वीरगञ्ज महानगरपालिकाले अत्यधिक भाडा वृद्धि र सम्झौता अवधि अगावै भाडावालालाई हटाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सबै घरधनी र भाडावालालाई सम्झौता व्यवस्थित गर्न निर्देशन दिएको छ।

बिहिबार जारी गरिएको सूचनामा महानगरले त्रिभुवन राजमार्ग विस्तारसँग सम्बन्धित मुख्य सडक क्षेत्रहरूमा घरधनीहरूले व्यवसायीहरूलाई अत्यधिक भाडा बढाउन दबाब दिएको, सम्झौता अवधि नसकिँदै सटर तथा कोठा खाली गराउन खोजिएको तथा अनधिकृत रूपमा भाडा मागिएको उजुरीहरू प्राप्त भएको उल्लेख गरेको छ।

महानगरले घर, कोठा, सटर तथा गोदाम भाडामा लिँदा वा दिँदा यथार्थ भाडा दर स्पष्ट उल्लेख गरी सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराउनुपर्ने र सो सम्झौताको एक प्रति अनिवार्य रूपमा नगर कार्यपालिकाको कार्यालयअन्तर्गत राजस्व महाशाखामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

यसैगरी, आपसी सहमति बिना भाडावालामाथि दबाब सिर्जना गर्ने, अवैध लेनदेन गर्ने वा नक्कली सम्झौता पेश गर्ने पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

राजस्व महाशाखा प्रमुख मनोज कुमार कर्णद्वारा जारी सूचनामा सबै सरोकारवालालाई नियमको पालना गर्न आग्रह गरिएको छ।

औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित वीरगञ्जमा पछिल्लो समय सडक विस्तारका लागि मुख्य सडकमा रहेका संरचना तोडिने कार्यसँगै भाडा बजारमा तनाव बढ्दै गएको देखिएको छ।

Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *